ओलीले भने – “नेकपा इतिहाँसकै गएगुज्रेको पार्टी थियो”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट विभाजित भएर प्रचण्ड-नेपाल समूह गएपछि पार्टीमा उर्जा बढेको बताएका छन्।

ओली पक्ष निकट मजदूर संगठन जिफन्टको भेलालाई सम्बोधन गर्नेक्रममा ओलीले प्रचण्ड-नेपाल समूह बाहिरिएपछि पार्टीमा नयाँ उत्साह र उर्जा थपिएको बताएका हुन्।

यस अगाडी पनि प्रचण्ड-नेपाल बाहिरिएपश्चात पार्टी गतिशील भएको बताउँदै आएका ओलीले बिहिबार आफ्नो पार्टी देशकै सबैभन्दा एकताबद्ध पार्टी भएको जिकिर गरे। आफ्नो पार्टीमा देखिएको जस्तो एकता कैयौं वर्षदेखि देख्न नपाइएको उनले बताए। नेपालमा सबैभन्दा अनुशासित पार्टी आफूहरुको रहेको दावी समेत ओलीले गरे।

“हामीलाई मनमा कस्तो–कस्तो लाग्न सक्छ, पार्टी फुट्यो भनेर ! आज पार्टीमा जस्तो एकता छ, त्यस्तो एकता कति वर्षदेखि थिएन ? आज हाम्रो पार्टी देशमै सबैभन्दा एकताबद्ध पार्टी हो । नेपालमा सबैभन्दा अनुशासित पार्टी नै हाम्रो पार्टी हो ।”,ओलीले भने।

यस्तै ओलीले विभाजन हुनु भन्दा अगाडीको नेकपालाई इतिहाँसकै गएगुज्रेको पार्टीको संज्ञा पनि दिएका छन्। नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपामा पहिला च्याउँच्याउँ र म्याउँम्याउँ भएको ओलीको भनाई छ। विगतको नेकपामा एउटै ध्येय, एउटै धारणा, एउटै लक्ष्य विकास र समृद्धि हुन नसकेको पनि ओलीले बताए।

“हिजो नेपालका पर्टीहरूमध्ये सबैभन्दा अराजक, अनुशासनहीन, गएगुज्रेको र गैताल पार्टी नै हाम्रो पार्टी बन्यो । पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्तो थियो र ? यताबाट उठेर एउटा कराउँछ, उताबाट अर्को कराउँछ च्याउँच्याउँ र म्याउँम्याउँ गरेर …, अहिले पार्टी त्यस्तो छैन । एउटै ध्येय, एउटै धारणा, एउटै लक्ष्य विकास र समृद्धि !”,ओलीले भने,”आजभोलि शरीर किन टनटन टनटन दुखिरहेको छैन भनेको त्यही पिलो निचोरिएर रहेछ, बिमारी के रहेछ भन्दा त्यही पिलो रहेछ। प्रचण्ड–नेपाल समूहतर्फ लक्षित गर्दै ओलीले भने, ‘उहाँहरू जानुभयो, आज पार्टीमा उत्साह छ । पार्टी गतिशील छ ।”

प्रकाशित : बिहिबार, माघ १५, २०७७१६:२४

“अब नेपालमा कोही पनि भोकै पर्दैन, कोही भोकै मर्दैन”