“निर्वाचन आयोग आयोगले हाम्रो पार्टीलाई वैधानिकता दियो”

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहद्वारा बिहीबार बुटवलमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले ४४१ केन्द्रीय सदस्यलाई मात्रै मान्यता दिएकोले आफूहरू नै आधिकारिक भएको दाबी गर्नुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो।’ –नेपालले भन्नुभयो । नेता नेपालले आफूहरूको पक्षमा देशैभरि लहर रहेको बढेको दाबी गर्नुभयो ।

पार्टीका सच्चा नेताकार्यकर्ताहरु आफूहरुसँगै रहेको दाबी गर्दै नेपालले ओलीको जालझेलमा फसेका र केही सीमित स्वार्थीहरु मात्रै केपी ओलीको प्रतिगमनको पक्षमा रहेको बताउनुभयो । प्रधानमन्त्री ओली जनताको खुसी र मुलुकको समृद्धिमा भन्दा अरुलाई घोचपेज बदख्वाइँमा रमाउने गरेको भन्दै नेपालले ओलीको तानाशाही बन्ने सपनाकै कारण पार्टी फुटेको बताउनुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनका विरुद्ध तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच संयुक्त आन्दोलन गर्ने सहमति गरेर आउँदा ज्ञानेन्द्रका विरुद्ध आन्दोलन! भन्दै वयलगाडा चढेर अमेरीका पुगिन्न भन्ने टिप्पणी गर्ने ओलीले आफ्नो चाहनाविपरीत आएको संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्न लागिपरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीको ज्यादती बयान गरेर साध्य नभएको भन्दै उनले उनका ज्यादतीबारे लेखिएको डायरी देखाउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेकै कारण पार्टी विभाजन भएको भन्दै अध्यक्ष प्रचण्डले ओलीको निरंकुश शासक बन्ने लालसा पूरा नहुने दाबी गर्नुभयो ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७०८:५३

कंगनाकोे हड्डी भाँचिएको चलचित्रले बनायो यस्तो रेकर्ड !