मुम्बई । अभिनेत्री कंगना रनौटको चलचित्र ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ को सार्वजनिक भएको दुई वर्ष पुगेको छ । कंगना आफैले निर्देशन गरेको उक्त चलचित्र २५ जनवरी २०१९ मा प्रदर्शनमा आएको थियो । चलचित्र सार्वजनिक भएको दुई वर्ष पुगेको छेको पारेर अभिनेत्री कंगनाले एक ट्विट गर्दै दुई तस्बिर एकसाथ सार्वजनिक गरेकी छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
तीमध्ये एक तस्बिरमा कंगनाको खुट्टामा प्लास्टर लगाइएको र उनी ह्विलचेयरमा देखिएकी छन् भने दोस्रोमा उनको निधारमा चोटको निसान छ । उनले ट्विटमा लेखेकी छन् ‘जस चलचित्रमा मेरो हड्डी भाँचियो, त्यही चलचित्रले कयौं रेकर्डसमेत तोड्यो ।’ यो चलचित्र जापानमा समेत भारतको सबैभन्दा सफल चलचित्र सावित भएको उनको उल्लेख छ । अभिनेत्री कंगनाले एक भिडियो समेत सेयर गरेकी छन् । भिडियोमा अभिनेता अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ ।
भिडियोमा अंकिता लोखन्डे, सुरेश ओवरोय, जिशु सेनगुप्ता, अतुल कुलकर्णीसहित अन्य चलचित्रका सबै स्टार छन् । कंगनाले लेखेकी छन्, ‘कयौं यो चलचित्र सर्वश्रेष्ठ ऐतिहासिक चलचित्र भनेका छन् । तर म यसलाई विश्व स्तरको फ्रेन्चाइज बनाउने वचन दिन्छु ।’ यसका साथै कंगनाले एक भिडियोसमेत शेयर गरेकी छन् । जसमा तरबार चलाइरहेको क्लिप समेटिएको छ । पिरियड ड्रामामा आधारित यो चलचित्र रानी लक्ष्मीबाईको जीवन, शासन र अंग्रेजसँगको लडाईको विषयलाई समेटिएको छ । चलचित्रमा कंगनासँगै जिशु सेनगुप्ता, अतुल कुलकर्णी, मोहम्मद जिशान, अंकिता लोखन्डे लगायतको मुख्य भूमिका रहेको छ ।