काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले पार्टी एकता गरेको आरोप लगाएका छन्। गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले प्रधानमन्त्री पद पाउनकै लागि ओलीले पार्टी एकता गरेको आरोप लगाएका हुन्।
शुक्रबार प्रचण्ड-नेपाल पक्षले गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नेक्रममा श्रेष्ठले पदकै लागि ओलीले पार्टी एकता गरेका थिए भन्ने अहिले आएर पुष्टि भएको बताए।

संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै भनेर पार्टी एकता गरिएको भएपनि ओलीले पद जाने देखिएपछि एकता भंग गरेको उनको आरोप छ।
“संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै भनेर हामीले पार्टी एकता गरेका थियौ। तर ओलीले प्रधानमन्त्री पदका लागि मात्रै पार्टी एकता गरेका रहेछन्। पद जाने भएपछि एकता भंग गरे ।”,उनले भने।
ओलीले पद जोगाउनैको लागि संविधान माथि पनि प्रहार गरेको पनि श्रेष्ठले बताएका छन्। संसद विघटनका विरुद्ध अदालतमा मुद्दा परेपछि कसैको साथ नपाएर ओली अहिले राजतन्त्र चाहिन्छ भन्नेहरुको साथमा पुगेको श्रेष्ठले आरोप लगाए।
“संविधान माथि प्रहार गर्दै ओलीले संसद विघटन गरे। अहिले अदालतमा मुद्दा पर्दा आफ्नो पक्षमा लड्ने वकिल नपाएपछि राजतन्त्र चाहिन्छ गणतन्त्र मास्नुपर्छ भन्ने एक/दुई जना मान्छेलाई पैसा दिएर बहस गर्न लगाए ।”,उनले भने।
![]()
