बामदेव आफूहरुको पक्षमा आउने प्रचण्डको दावी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहक प्रचण्डले बामदेव गौतम आफूहरुकै पक्षमा आउने दावी गरेका छन्। शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले बामदेव गौतमले आफूहरुकै पक्षमा आउने बताइसकेको दावी गरेका हुन्।

संविधान माथि नै प्रहार हुने गरी ओलीले चालेको कदमका विरुद्ध गौतम रहेको पनि प्रचण्डले बताए। पार्टी एकताका लागि गौतम लागिपरिरहेको भए अनि उनी प्रतिगमनको विरुद्ध रहेको प्रचण्डको भनाई छ।

“बामदेवजीले अस्ति मलाई फोन गर्नुभएको थियो। हामी सँगै भाषण गरेर हिँड्नुपर्ने होइन? भनेर सोध्दा आउँछु भन्नुभएको छ। उहाँ आउनुहोला नहोला। तर, मिलाउँछु भनेर लागि राख्नुभएको छ।”,उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा दुई कित्तामा विभाजित भएपनि नेता गौतम भने कुनै पनि पक्षमा लागेका छैनन्। नेता गौतमले केहि दिन अगाडी मात्रै एकता अभियानको घोषणा गरका थिए।

“फुच्चे ओलीलाई कारबाही गर्ने ताकत हामीसँग छ”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहक प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी फुच्चे भइसकेको पनि बताएका छन्।

आफू पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा राम्रो सहभागिता देखेर हौसिएका प्रचण्डले ओली फुच्चे भइसकेको पुष्टि भएको बताए। ओलीले धनगडीमै आएर आफ्नो पार्टी ठूलो भएको दावी गरेको उल्लेख गर्दै शनिबारको सभाले ओलीको घमण्डलाई तोडेको प्रचण्डले जिकिर गरे।

प्रचण्डले भने,”धनगढीमा अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु ।”

ओली केन्द्रीय कमिटी र स्थायी कमिटीमा मात्र नभई सडकमा पनि अल्पमतमा अपरेको प्रचण्डले बताए। कार्यक्रममा देखिएको उपस्थिती देखेर उत्साहित बनेका प्रचण्डले भने,”सडकमा पनि केपी ओली एक तिहाई हो । तपाईहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो ।”

ओलीले आफैमाथि कलंकको टीका लगाए

यस्तै प्रचण्डले केपी शर्मा ओलीले आफैमाथि कलंकको टीका लगाएको आरोप लगाएका छन्। संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर ओलीले इतिहासमै धेरै दाग लाग्ने गरी कलंकको टीका लगाएको प्रचण्डले आरोप लगाए ।

“उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो। आफैँलाई खनायकको रुपमा स्थापित गर्नुभयो।”,उनले भने।

त्यति मात्र नभई प्रचण्डले संसद बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने ताकत आफूहरुसँग रहेको पनि बताए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको प्रचण्डको भनाई छ।

प्रकाशित : शनिबार, माघ १७, २०७७१७:२०

“विदेशी हस्तक्षेपविरुद्धको लडाइँमा छौँ, साथ दिनुहोस्”