पेरिस । सरुवा बजार बन्द हुने दिन नजिकिदै गर्दा पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेको चर्चा सेलाएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
रियल म्याड्रिडले फ्रान्सेली युवा स्टारलाई भित्राउन प्रयास गर्ने बारम्बार चर्चा हुने गरेको छ । यद्दपी त्यो सम्झौता सहज छैन भन्ने रियललाई पनि राम्ररी थाहा छ । कोभिड १९ का कारण धेरै क्लबको आर्थिक अवस्था कमजोर भएको छ । रियल पनि त्यसबाट अलग छैन । तर पनि टोलीको योजनालाई जीवन दिनका लागि विश्व स्तरीय खेलाडीलाई भित्राउन जरुरी रहेको रियलको बुझाई छ ।
सन् २०१७ मा एमबाप्पेलाई भित्राउने मौका रियलसँग थियो । तर त्यति बेला रियलमा बिबिसी (बेन्जमा, बेल र रोनाल्डो) को दबदबा थियो । त्यो जोडीलाई टोली अलग गर्न चाहन्थेन । तर, अहिले करिम बेन्जेमा मात्र टोलीमा छन् । ग्यारेथ बेल लोनमा टोटनहम पुगेका छन् । सायद त्यति बेला एमबाप्पेलाई नलिएकोमा रियललाई पछुतो पनि हुन सक्दछ । लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेपछि क्रिस्टियानो रोनाल्डो पनि युभेन्ट्स लागेका थिए ।
अहिले पिएसजी पनि एमबाप्पेलाई जान दिन सक्ने मनस्थितिमा पुगेको देखिन्छ । पिएसजीसँग उनको सम्झौता सन् २०२२ को जुनमा सकिनेछ । पिएसजीले लिओनल मेस्सीलाई भित्राउने विषयमा सोचिरहेको चर्चा सुरु भएको छ । मेस्सीलाई भित्राउनका लागि एमबाप्पे र नेयमार मध्ये एकलाई विक्री गर्नुपर्ने हुन सक्दछ । नेयमार अहिले एमबाप्पले भन्दा पिएसजीको प्राथमिकतामा रहेको बताइन्छ ।
पिएसजीसँग एमबाप्पेका विषयमा दुई विकल्प रहेको बताइन्छ । पहिलो उनीसँगको सम्झौतालाई नविकरण गर्ने । अर्को समरमा १ सय ५० देखि १ सय ६० मिलियन युरोमा विक्री गर्नेछ । सिद्धान्तत रियलले भने १ सय २५ मिलियन युरोको सिमा भित्र रहेर खर्च गर्नुपर्नेछ । समान्य वर्षमा भए रियल उनका लागि ३ सय मिलियन पनि खर्च गर्न तयार हुने अनुमान गरिएको छ । त्यसर्थ रियलले एमबाप्पेलाई लिन आफ्ना केहि खेलाडी विक्री गर्न सक्ने सम्भावना छ ।