एजेन्सी – बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड पुगेका लुइस स्वारेजले आफ्नो उच्च लयलाई कायमै राखेका छन्। आइतबार राति क्याडिजसँग भएको खेलमा स्वारेजले दुई गोल गर्न सफल भएका छन्। जससँगै उनी ला-लिगा जारी सिजनको उच्च गोलकर्ताको रुपमा अगाडी बढेका छन्।
स्वारेजले अहिले सम्म १४ गोल गरिसकेका छन्। १६ खेल खेल्दा उनले यो संख्यामा गोल गर्न सफल भएका हुन्। स्वारेजलाई बार्सिलोनाका लियोनेल मेस्सी र सेभियाका युस्सेफ इन न्यास्रीले समान १२ गोल सहित पछ्याइरहेका छन्।
आइतबार राति एट्लेटिको क्याडिजलाई उसकै मैदानमा ४–२ ले हराउँदा स्वारेजले गरेका दुई गोल गरेका थिए। त्यसमा एक पेनाल्टी र फ्रिकिक गोल थियो।
खेलको २८औं मिनेटमा पाएको फ्रिकिकको मौकालाई स्वारेजले गोलमा परिणत गरेका थिए भने ५०औं मिनेटमा पेनाल्टीको मौका पाउँदा पनि स्वारेज चुकेनन्।
मेस्सीले पनि गरे फ्रिकिक गोल
आइतबार राति नै भएको खेलमा बार्सिलोनाले एथलेटिको बिल्वाओमाथि २–१ को जित निकालेको छ। कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनको गोलमा बार्सिलोनाले बिल्वाओलाई उसकै मैदानमा हराएको हो।
उक्त खेलमा मेस्सीले खेलको २०औं मिनेटमा गोल गरेका थिए। उक्त गोल फ्रिकिक थियो। यससँगै बार्सिलोनाका लागि मेस्सीको गोलसंख्या ६ सय ५० पुगेको छ। आइतबारको जितसँगै बार्सिलोना ला-लिगाको दोस्रो स्थानमा उक्लिएको छ।