काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी माथि तोडफोड भएको छ। पोखरेल चढेको गाडी माथि नुवाकोटमा तोडफोड भएको हो।
ओली पक्षको नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका बेला पोखरेल चढेको गाडी माथि प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले तोडफोड गरेका हुन्। प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड पनि गरेको बताइएको छ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको बाटोमा अगाडी बढेको छ। नेकपा स्पष्ट रुपमा केपी ओली समूह र प्रचण्ड-नेपाल समूह गरी दुई कित्तामा विभाजित भएको छ। पार्टीका अर्का नेता बामदेव गौतमले भने अर्को एक समूहको नेतृत्व गरिरहेका छन्।
विभाजित भएपश्चात दुवै पक्षले देशभर शक्ति प्रदर्शन गर्दै आएका छन्। विभाजन तल्लो तह सम्म पुग्दा विभिन्न स्थानमा दुई पक्ष बीच झडप समेत भइसकेको छ।

