काठमाडौंँ, माघ । नेपाली चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र निर्माण गर्ने भएकी छिन्। उनले ‘बनवास’ नामक चलचित्र निर्माण गर्न लागेकी हुन् । करिश्माले आफ्नी छोरी कबिता मानन्धरलाई लिएर चलचित्र बनाउन लागेकी हुन् ।
करिश्माले सामाजिक संजाल फेसबुकमा फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छिन्। यस चलचित्रमा कविताको साथै अभिनेता सरोज खनाल पनि रहनेछन्। चलचित्रमा कविता र सरोजको मुख्य भूमिका रहने अनुमान लगाउन सकिन्छ।
बाबु-छोरीको सम्बन्धको विषयमा बन्न लागेको यो चलचित्र असार, साउनमा छायाँकनमा जाने तयारी भइरहेको छ। छायाँकार समेत रहेका सुशील क्षेत्रीले यस फिल्मलाई निर्देशन गर्दैछन् । करिश्माले यसअघि ‘फागु’ नामक फिल्म बनाएकी थिइन्। कविताले अभिनय गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ केही साता अगाडि प्रदर्शनमा आएको थियो। उनले यसै चलचित्रबाट नेपाली सिनेमामा डेब्यु गरेकी हुन्।