काठमाडौँ – उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको छ। राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लू भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
बर्डफ्लू भेटिएको हल्लापछि मासु बिक्री कम भएको काठमाडौंको बनस्थलीमा मासु पसल गर्दै आएका राजन श्रेष्ठले बताए। ‘नियमितभन्दा आइतबार करिब २० प्रतिशत कम मासु बिक्री भएको छ,’ श्रेष्ठले भने, ‘बर्डफ्लू भेटिएको हल्लाले उपभोक्ता डराए।’
विज्ञहरूले बर्डफ्लू भेटियो भन्दैमा कुखुराको मासु खान छोड्न नपर्ने बताएका छन्। ७३ डिग्री सेन्टिग्रेट तापक्रममा पकाउँदा बर्डफ्लुको भाइरस नष्ट हुने भएकाले पकाएर मासु प्रयोग गर्दा रोग नसर्ने वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले बताए। ‘त्रसित हुनुपर्ने अवस्था छैन,’ पशु विभागका प्रवक्ता समेत रहेका ढकालले भने, ‘मासु पकाएर खाँदा जोखिम हुँदैन।’
पशुपक्षीको स्याहारसुसार गर्दा संक्रमित पक्षी भए सर्न सक्ने भएकाले सर्तकता अपनाउन विभागले आग्रह गरेको छ। ‘पक्षी पाल्ने, स्याहार सुसार गर्ने, ओसारपसार गर्नेले सर्तकता अपनाउनु पर्छ,’ ढकालले भने, ‘मासु खान डराउनु पर्दैन।’
काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ७
सांङ्लेखोला फुटुङका स्थानीयले पालेका पक्षीमा परीक्षण गर्दा बर्डफ्लू रोग (एच ५ एन ८ भाइरस)भेटिएको थियो। बर्डफ्लू पुष्टि भएका क्षेत्रका करिब २५ सय पक्षी नष्ट गरिसकेको छ। अन्यत्र नफैलिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको विभागको दाबी छ। ‘संक्रमण देखिएको क्षेत्रमा उच्च सर्तकता अपनाएर टोली परिचलान गरेका छौं,’ ढकालले भने।
बर्डफ्लू मानव स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने संक्रामक रोग भएकाले उपभोक्ता चिन्तित बनेका हुन्। विगतमा नेपालमा देखिएको एच५ एन१ भाइरसभन्दा अहिलेको भाइरस केही फरक प्रकृतिको छ। अहिले देखिएको बर्डफ्लू भाईरस एच५ एन१ हो। बर्डफ्लू एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रूप हो। विगतमा नेपालमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात एच५ एन१ भेटिएको थियो।