काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालले नेकपाको अर्को समूहलाई सानो टुक्राको संज्ञा दिएका छन्। मंगलबार आधिकारिकता दाबी पेश निर्वाचन आयोग पुगेका बेला नेता खनालले केपी शर्मा ओलीको समूहलाई सानो टुक्राको संज्ञा दिएका हुन्।
आफूहरुसँग बहुमत केन्द्रीय कमिटी सदस्य रहेको भन्दै नेता खनालले पार्टीको आधिकारिकता आफूहरु नै पाउने दावी गरे। खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये झन्डै ७० प्रतिशत आफूहरूसँग भएकाले आधिकारिकता पाउने बताए।
आफूहरुसंग बहुमत सदस्य रहेको दुई वटा केन्द्रीय कमिटी बैठकबाट प्रमाणित भइसकेको उनको जिकिर छ। तेस्रो र चौंथो बैठकले पनि बहुमत केन्द्रीय कमिटी सदस्य उपस्थित भएको उनले सुनाए।
“हामीले दुई वटा केन्द्रीय कमिटी बैठकबाट प्रमाणित गरेका छौं। तेस्रो र हिजो सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकमा पनि त्यही उपस्थिति रहेर निर्णय गरेका छौं। तथ्य, प्रमाण निर्णय र विधान सबै कुरालाई राखेर दाबी गरेका छौं। अहिले नेकपा भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक हो भन्ने दाबी प्रस्तुत गरेका छौं।”,उनले भने।
त्यस्तै नेता खनालले निर्वाचनको मुख्य खेलाडी दल भएकाले दल तयारी नभएसम्म कुनै निर्वाचन हुन नसक्ने पनि बताएका छन्। नेकपाको आधिकारिकताको टुंगो नलागेसम्म निर्वाचन हुन नसक्ने उनको भनाई छ।
उनले भने,”निर्वाचनको मुख्य खेलाडी दल नै हुन् त्यसलाई तयारी नपारी निर्वाचन हुदैन त्यो निर्वाचन आयोगलाई थाहा छ। निर्वाचन आयोगले दलको टुंगो लगाउनुपर्छ। बालुवाटार सानो टुक्रा हो, पार्टी फुटाउने तागत नभएपछि आधिकारिकता दाबी गरेको मात्रै हो। त्यसैले संविधानलाई उपयोग गरेर दाबी गर्न आयो।”