काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले अब तिर्नुपर्ने जरिवाना रकम अनलाइन बाटै भुक्तानी गर्न सक्ने भएका छन् ।
महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याएको हो ।
ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली(आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच आबद्ध भई जरिवाना रकम भुक्तानी हुने गरी उक्त प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
यसअघि जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो । यसले ट्राफिक कार्यालयमा हुने भीडभाडमा कमी आई समयको समेत वचत हुने विश्वास गरिएको छ । ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पूर्ण सेवाग्राहीलाई सहज एवं सरलरुपमा सेवा दिन सधँै तत्पर रहेको महाशाखाले जनाएको छ ।
यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरी जरिवानाबापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था गरिएको थियो ।

