काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलन गर्ने चेतवानी दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-अध्यक्ष समूहले घोषणा गरेको आम हड्ताल सफल गराउन सडकमा उत्रिएका प्रचण्डले जनाआन्दोलनको चेतावनी दिएका हुन्।
आम हड्ताल सफल गराउन प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका कदम विरुद्ध जनआन्दोलन नै गर्ने चेतावनी दिए। आफूहरुले गर्ने आन्दोलन जनआन्दोलन हुने र ओलीले गर्ने प्रदर्शन पञ्जे र्याली हुने प्रचण्डले तर्क गरे।
“अब हामीले गर्ने भनेको जनआन्दोलन हो। केपीजीले गर्ने भनेको पञ्जे र्याली मात्र हो ।”,प्रचण्डले भने। संविधान विपरित कदम उठाएसँगै ओलीको हार शुरु भइसकेको पनि प्रचण्डले बताए।
फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने प्रचण्डको भनाई छ। नागरिक अगुवा देखि संविधानका जानकार सम्पूर्ण आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले ओलीको हार शुरु भइसकेको बताए।
संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको प्रचण्डको भनाई छ। प्रचण्डले भने,”हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ।”
२०४६ सालको जनआन्दोलन अगाडी पञ्चायतले पैसा दिएर लाखौं मान्छे उतारेको उल्लेख गर्दै प्रचण्डले अहिले पनि ओलीले त्यस्तै गर्न लागेको प्रचण्डले बताए।
“२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्यार्ली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ। हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्याली गर्दै हुनुहुन्छ।”,उनले भने।