काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकावा) प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्र खान खोजेको आरोप लगाएका छन्।
नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालको रत्नपार्कमा नेतृत्व गरिरहेका श्रेष्ठले पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा ओलीले संविधान र लोकतन्त्र दुवै खान खोजेको आरोप लगाएका हुन्।
केपी ओलीले संविधान र लोकतन्त्र दुवै खान खोजेपछि आफूहरु सडकमा आउन बाध्य भएको श्रेष्ठले स्पष्ट पारे। केपी ओलीले प्रधानमन्त्री पदका लागि प्रतिगमन लाद्न खोजेको उनको आरोप छ। ओली संविधान कानुन नमानेर जंगली राज र निरङ्कुशताको बाटोमा लागेको उनले आरोप लगाए। आफूहरु पदका लागि सडकमा नआएको दावी पनि उनले गरे।
“हामी संविधान, लोकतन्त्र र विधिलाई बचाउनका लागि सडकमा आएका हौँ। पदका लागि होइन।। केपी ओलीले प्रधानमन्त्री पदका लागि प्रतिगमन लाद्न खोज्ने। संविधान र लोकतन्त्र नै खान खोजेपछि संघर्षमा उत्रिएका हौँ।”,उनले भने।
आम हड्ताल गर्दा आफुहरुलाई दुख लागेको भएपनि ६ दशकभन्दा लामो संघर्ष र हजारौँ जनताको बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षाका यस्तो कदम चाल्न आफूहरु बाध्य भएको उनको जिकिर छ। नेपाली जनताको प्राप्तीको रक्षाका लागि आम हड्ताल गरिएको उनको भनाई छ।
श्रेष्ठले भने,”६ दशकभन्दा लामो संघर्ष र हजारौँ जनताको बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हौँ। प्रतिनिधि सभा विघटन भएपछि नै विभिन्न प्रदर्शनका कार्यक्रम गरिरहेका छौँ। आम हड्तालमा जाँदा हामीलाई पनि दुख लागेको छ। तर, नेपाली जनताको प्राप्तीको रक्षाका लागि बाध्य भएका छौँ।”

