काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपालका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसिसीलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णयमा आफू पुगिनसकेको बताएका छन्। शुक्रबार बिहान एक कार्यक्रममा बोल्दै प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीबारे अन्तिम निर्णयमा आफू पुगिनसकेको बताएका हुन्।
बिहिबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी हुँदा प्रचण्डले रोकेका थिए। प्रचण्डले एमसीसीविरुद्धको नाराबाजीलाई रोकेको विषयलाई लिएर आलोचना भएपछि प्रचण्डले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले एमसीसीको समर्थन नगरेको बताए।
ओलीले असंवैधानिक रुपमा गरेको नियुक्ति र संसद विघटन विरुद्ध संघर्ष गर्दा अन्य विषयमा नाराबाजी नगरौं भनेर मात्रै आफूले रोकेको प्रचण्डको भनाई छ।
“अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो। बीचमा फ्याट्ट एमसिसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु।”,प्रचण्डले भने।
केपी ओलीका कदम विरुद्ध गरिएको प्रदर्शनमा अन्य विषयवस्तु मिसाउँदा प्रदर्शन कम्जोर होला भनेर मात्रै आफूले त्यस समयमा नाराबाजी रोकेको उनको स्पष्टिकरण छ।
प्रचण्डले भने,”एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ। हिजो हामीले संवैधानिक परिषदको ज्याददीपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो।”

