शुरु भयो हिउँदे वर्षा, कतै पानी, कतै हिउँ !

काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली भूभागमा हिमपात भएको छ । आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

“पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ”, मौसमविद् अर्यालले भने।

पश्चिमी भूभागमा आज ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २४ गते (शनिबार)

दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धरै थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागहरुका आंशिक वदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१३:२१

प्रचण्डलाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी !