फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्य एक क्रिस्टियानो रोनाल्डोले आज आफ्नो ३६ औं जन्मदिन मनाउँदै छन्। पोर्चुगलको मदेइरा शहरमा १९८५ फेब्रअरी ५ अर्थात् आजैको दिनमा जन्म लिएका रोनाल्डो अहिले फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनको नाममा अहिले ७६२ गोल छ।

सन् २००२ बाट पोर्चुगिज क्लब स्पोर्टिंग सिपीबाट आफ्नो खेल जीवन सुरुवात गरेका रोनाल्डोले सानै उमेरबाट आफ्नो क्षमताले सबैलाई प्रभावित गर्न सफल भए। २००३ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका रोनाल्डोलाई त्यति बेला फुटबलको ‘नेक्स्ट बिग थिंग’ को रूपमा हेरिएको थियो। म्यानचेस्टरमा हुँदा उनी विश्व कै उत्कृष्ट खेलाडीका रूपमा विकसित भए।

सन् २००९ मा रोनाल्डो त्यतिबेलाको कीर्तिमानी रकम ८० मिलियन युरोमा स्पेनिस महारथी रियल म्याड्रिडसँग अनुबन्धित भए। स्पेनमा उनी फुटबल जगतकै सर्वात्क्रिष्ट खेलाडी मध्यका एकका रुपमा स्थापित भए। अहिले इटालियन क्लब युभेन्टसका लागी खेलिरहेका रोनाल्डोले आफ्नो खेल जीवनमा हरेक उपाधि जितेका छन्।

आज आफ्नो ३६ औं जन्मदिन मनाइरहेका रोनाल्डोले फुटबल जगतमा बनाएका ५ अविश्वसनिय रेकर्डका बारेमा जानौं….
फुटबल इतिहासमा सबैभन्दा बढी गोल

क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। चेक गणतन्त्रका दिग्गज खेलाडी जोसेफ बिकानको ७५९ गोलको रेकर्ड गत जनावरीमा तोडेसँगै रोनाल्डो फुटबल जगतमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्। उनको नाममा अहिले ७६२ गोल छ।
युरोपका टप ३ लिगमा बेस्ट प्लेयर अवार्ड

प्रिमियर लिग, लालिगा, बुन्डेस्लिगा, सरी-ए र फ्रेन्च लिगलाई युरोपको टप ५ लिग मानिन्छ। रोनाल्डो फुटबल इतिहासका एक मात्र यस्ता खेलाडी हुन् जसले यी ५ मध्ये ३ लिगमा ‘बेस्ट प्लेयेर’ उपाधि जितेका छन्। उनले म्यानचेस्टरमा हुँदा पीएल बेस्ट प्लेयर, रियल म्याड्रिडमा हुँदा लालिगा बेस्ट प्लेयर र युभेन्टसमा हुँदा सरी-ए प्लेयर अफ द इयर अवार्ड प्राप्त गरिसकेका छन्।
च्याम्पियन्स लिग टप स्कोरर

रोनाल्डोलाई मिस्टर च्याम्पियन्स लिगको नामले पनि चिनिन्छ। उनी च्याम्पियन्स लिगका अल टाइम टप गोल स्कोरर हुन्। उनले यस प्रतियोगितामा कुल १३४ गोल गरिसकेका छन्। च्याम्पियन्स लिग इतिहासमा उनले भन्दा बढी गोल कसैले पनि गरेका छैनन्। त्यस्तै, च्याम्पियन्स लिगको एकै संस्करणमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड पनि रोनाल्डो कै नाममा छ। उनले २०१३/१४ सिजनमा १७ गोल गरेका थिए। उनी ५ पटकका च्याम्पियन्स लिग विजेता पनि हुन्।
फुटबल खेलको हरेक मिनेटमा गोल गर्ने पहिलो खेलाडी

रोनाल्डोको नाममा एक अनौठो रेकर्ड छ। उनले फुटबल खेलको पहिलो मिनेट देखि ९० औं मिनेटसम्म हरेक मिनेटमा गोल गरेका छन्। उनी यस्तो कार्नामा गर्ने पहिलो खेलाडी हुन्। यो रेकर्ड अहिले फुटबल इतिहासमा मात्र दुई जनाको नाममा छ: अवश्य नै क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिक।
दुई क्लबबाट फिफाको उत्कृष्ट ११ मा पर्ने एक मात्र खेलाडी

फुटबल इतिहासमा क्रिस्टियानो एक मात्र यस्ता खेलाडी हुन् जो दुई फरक-फरक टिमबाट फिफाको बेस्ट ११ मा पर्न सफल भएका छन्। उनी रियल म्याड्रिड र युभेन्टस दुई क्लबबाट खेल्दै गर्दा फिफाको बेस्ट ११ मा पर्न सफल भएका हुन्।

