काठमाडौँ- बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा मार्चपास गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायहरूमा गरेको असंवैधानिक नियुक्तिको प्रतिकारस्वरूप शुक्रबार बृहत् नागरिक आन्दोलनको आह्वानमा लैनचौरदेखि राष्ट्रपति कार्यलय शीतल निवाससम्म मार्चपास गरिएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रहरीले लैनचौर हुँदै राष्ट्रपति कार्यलय शीतल निवास निषेधित क्षेत्रतर्फ बढ्न नदिएपछि पानीपोखरीमा बृहत् नागरिक आन्दोलनले सभा गरेको थियो। सभामा बोल्दै प्राध्यापक कृष्ण खनालले नेपाली राजनीति सुधार्न जरुरी रहेको तर्क गरे। ‘राजनीति सुधार गर्न जरुरी छ,’ उनले भने, ‘२०६२/६३ को आन्दोलनमा हामीले थाहा पाएका थियौं, यिनीहरूबाट सुधार हुँदैन भनेर। हामी सचेत थियौं। तर हामीले मौका दियौं। अब नागरिकहरूले त्यस्तो मौका दिनेवाला छैनन्।’
पुष्पकमल दाहाल, माधव नेपाल, खड्गप्रसाद ओली, झलनाथ खनाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेलबाट अब देश चल्दैन भनेर प्रस्ट सन्देश दिन चाहेको उनले बताए। ‘नागरिक समाज कसैको पक्षमा वा राजनीतिक दलको पक्षमा उभिएको होइन,’ उनले भने, ‘राजनीतिमा जमेको फोहोर चिरेर फाल्दै नागरिक चेतना र विवेकलाई अविच्छिन्न राख्न यो आन्दोलन जारी रहन्छ।’
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले साक्षी भएर संविधानको उल्लंघन गरिरहेको बताएका थिए। ‘तिमी (राष्ट्रपति विद्यादेवी भण्डारी) साक्षी बसेर बनाएको संविधानको हालत के छ ?’ उनले प्रश्न गरे, ‘तिमी साक्षी भएर कति ठाउँमा संविधानको उल्लंघन भइरहेको छ ?’ उनका आँखा र कान खुल्नेगरी प्लेकार्ड देखाउने उद्देश्य रहे पनि राज्यले छेकेको उनले बताए। ‘जब हाम्रो चेतना र कर्तव्यले योभन्दा अगाडिको बाटो खोज्छ, त्यसपछि हामीलाई कसैले छेक्न सक्दैन। हिजो २०६२/६३ मा योभन्दा ठूला छेकबार थिए। ती सबैलाई तोडेर अगाडि बढेका हौं,’ उनले भने, ‘यो कसैले नठान्नू कि नागरिक अब यहीं नै रोकिए। हामी रोकिएका छैनौं। हामी कहाँ पुग्ने हो, हामीलाई थाहा छ। दिन आएपछि हामी पछि पर्दैनौं। शीतलनिवास र बालुवाटारले मात्र नभई हामी न्यायालयलाई पनि भन्छौं, तिमीले जोगाउनुपर्ने संविधानको हालत के छ अहिले ?’ प्रधानन्यायाधीशसमेत यस संविधान उल्लंघनको साक्षी बसिरहेको आरोप उनले लगाए।

