बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा बिहीबार बेलुका एक युवतिको शव सडकबाट ५० मिटर पर फेला प¥यो । एक विद्यार्थीले ति युवतिको शव देखेपछि अरूलाई खबर गरेकी थिइन् । लबलेक सामुदायिक वनमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
साँझ ६ बजेतिर जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए । उनि थिइन्, १७ वर्षीया भागरथी भट्ट । बुधबार बिहान उनि स्कुल गएकी थिइन् । दिनभर पढेर बेलुका घर फर्किनुपर्ने थियो, तर अबेर हुँदा पनि उनी घर फर्किइनन् । घर नफर्किएपछि गाउँघरमा थरीथरीका कुरा हुन थाले । कोहीले पोइल गयो होलासमेत भन्न भ्याए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
उनी दिउँसो २ बजेदेखि स्थानीय खोचलेक बजारबाट सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि उनको सोधीखोजी गर्न थालिएको थियो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो देखिएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । ‘घटनाको प्रकृति हेर्दा कसैले बलात्कारपछि हत्या गरेको देखिएको छ, तर पोस्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न सकिने अवस्था छैन’, प्रहरी निरीक्षक धामीले भने ।
दोषीमाथि कारवाहीको माग गर्दै स्थानीय र विद्यार्थीहरूले नाराबाजी गरेका छन् । बैतडी प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले समेत घटनास्थलको निरीक्षण गरेका छन् । किशोरीको शव भेटिएकै क्षेत्रमा उनले बोक्ने मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ । ‘मोबाइलसमेत फेला पारेको त्यसको पनि जाँच गर्छौं । यो घटनालाई निकै गम्भीर रूपमा लिएर उपलब्ध स्रोतसाधनको भरपुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाएका छौं’, डिएसपी अधिकारीले भने ।