काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले तीन लाख नागरिक उपस्थित गराउने दाबी गरी शुक्रबार नारायणहिटीअगाडि आयोजना गरेको आमसभालाई धेरैले विभिन्न कोणबाट आलोचना गरे पनि तुलनात्मक रुपमा प्रधानमन्त्री ओलीले सन्तुलित भाषण गरेको, विपक्षीलाई गाली गरेर दर्शकलाई मनोरञ्जन दिने हल्का शैली त्यागेकामा प्रशंसा पनि गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म राजधानीको आवागमन प्रभावित भएकोमा सवारीसाधनमा सवार व्यक्तिहरु सर्वाधिक आक्रोशित देखिए । ‘सडक हिँडडुल गर्नका लागि हो, सडकमै सभा गरेर जनतालाई दुःख दिने काम विरोधी दलहरुले गरे पनि सरकार स्वयम्ले यसो गर्न नहुने’ शुक्रबार यस खालका अभिव्यक्तिहरु आम नागरिकबाट व्यक्त भएको सुनियो ।सभामा भावुक भएर आँसु खसाल्ने प्रधानमन्त्री ओली र विशाल जनसभाको व्यवस्थापन गरिदिने शिक्षामन्त्री तथा नेकपा उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठलाई भाषण सुन्न भेला भएका नागरिकहरुले स्यावासी दिएको पनि देखियो । ‘नियत त ओलीको पनि खराब देखिन्न, नेकपा ओली पक्षप्रति जनताको विश्वास नै नभए श्रेष्ठले हजारौं–हजारको उपस्थिति गराउन सक्ने थिएनन्।’ –दर्शक–स्रोताहरुको टिप्पणी थियो ।
मन्त्री श्रेष्ठले ‘ओली र सूर्य जहाँ, नेकपा त्यहाँ’ भनेर भाषण गर्दा सहभागीहरुले लामो ताली पिटेका थिए । प्रधानमन्त्री ओलीले आम जनताको समृद्धि र मुलुकका विकासबाहेक आफ्नो अर्को कुनै स्वार्थ नरहेको जानकारी गराउँदा दर्शक–स्रोताहरुले ठूलो उत्साह देखाएका थिए ।
खास गरी विगतका भाषणमा नेकपाको अर्को खेमा जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले गर्नुभएको छ, त्यसको आलोचना गरेर बढी समय लगाउने प्रधानमन्त्री ओलीले गालीको मात्रा घटाएको देखेर दर्शकले ‘मुलुकको जिम्मेवार कार्यकारीको परिचय दिन खोजेको’ टिप्पणी पनि गरे ।पछिल्लो समय ओलीमा परिवर्तन आएको विश्लेषण शुक्रबार नारायणहिटी अगाडिको भाषण सुन्न नगएकाहरुले पनि गरेका छन् । १२ माघमा पशुपतिनाथ पुगेर पञ्चामृत पूजा, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ती बालेको र २३ माघमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको उद्घोषले एकसाथ ‘कम्युनिस्टहरु धर्म मान्दैनन्’ भन्ने पूर्वपञ्चको प्रचार र ‘ओली संघीयताविरोधी हुन्’ भन्ने प्रचण्ड–नेपाल समूहको दाबीलाई प्रधानमन्त्रीले खण्डन गर्नुभएको छ ।‘चितवनको भरतपुर पुगेर स्वस्ति शान्ति गराउने ओलीलाई नास्तिक भन्न सकिन्न’ भाषण शुरु हुनुअघि झुण्ड–झुण्डमा गफ गर्नेमध्येका एक ज्येष्ठ नागरिकको टिप्पणी थियो ।