मौसममा क्रमिक सुधार, के अब गर्मी शुरु हुन्छ ? यसो भन्छन् मौसमविद् !

सांकेतिक तस्विर

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।

अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताइन्। पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ ।

काठमाडौँ उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आज बढी चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ । काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाकोृ न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री र सबै भन्दा धेरै विराटनगरको न्युनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : आइतबार, माघ २५, २०७७११:४४

“भारत, चीन र बङ्गलादेशलाई बेच्ने गरी ऊर्जा उत्पादन गर्छौं”