काठमाडौँ – दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको हो।
जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमको रिपोर्ट आएको र त्यसले भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अहिले भट्ट माथि सामूहिक बलात्कार भएको हो-होइन भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदी बताए।
स्वाब परीक्षणका लागि काठमाडौंँ
भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए ।
स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डिएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।