दाहाल–नेपाल समूहले भोली दुई लाख मानिस उतार्ने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिसबीच विशाल सभा गर्ने भएको छ। ‘हामीले राजधानी आसपासबाट मात्रै डेढ लाखभन्दा बढी मानिस उपस्थित हुने आँकलन गरेका छौं,’ संघर्ष समितिका एक सदस्यले भने। उनका अनुसार सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले व्यापक तयारी गरेका कारण मानिसहरूको उपस्थिति सहज हुनेछ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

नेकपाका दुई समूहबीच प्रदर्शन र सभाको होडबाजी चलिरहेका बेला दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिस ल्याएर आम सभा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत कार्य गरेको भन्दै खबरदारी गर्ने भएको हो। देशव्यापी रूपमा विरोधसभा आयोजना गर्दै आएको सो समूहले तेस्रो चरणको संघर्षको कार्यक्रमअन्तर्गत राजधानीमा विशाल आमसभा गर्न लागेको हो। संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निस्कनेछ। त्यसअघि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुसहरू निकालिनेछन्।

संघर्ष समितिका अनुसार पुल्चोकबाट सुरु हुने जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा मिसिनेछ। त्यसको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुसाल र प्रमेश हमालले गर्नेछन्। ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू पनि त्यो जुलुसमा सहभागी हुनेछन्। त्यस्तै त्रिपुरेश्वरबाट सुरु हुने सहायक जुलुस सुन्धारामा पुग्नेछ। उक्त जुलुसको नेतृत्व स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनाद्र्धन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्। माइतीघरबाट सुरु हुने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ। त्यस जुलुसको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव र हरिबोल गजुरेललगायत नेताले गर्नेछन्।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७०७:१९

पेट्रोलियम पदार्थको मूल्य: किन्दा ५२ रुपियाँ, बेच्दा १ सय १० !