काठमाडौँ, चालू आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । यसका कारण व्यापार घाटा ५.८ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह बढेको, वैदेशिक लगानी झन्डै आधाले घटेको र शोधनान्तर बचत भने बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
नेपाल राष्ट्र बैङ्कको चालू आवको छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई ६० अर्ब ८० करोड रुपियाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ८.४ प्रतिशत र ४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५० प्रतिशतले कमी आएको छ ।
सोही अवधिमा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ ।
वार्षिक विन्दुगत आधारमा २०७७ पुसमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.२ प्रतिशतले बढेको छ । सो अवधिमा आयात मूल्य सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । २०७६ पुसमा ०.६ प्रतिशतले घटेको व्यापारको सर्त २०७७ पुस महिनामा ३.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटेर छ सय अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।
चालू खाता घाटामा
समीक्षा अवधिमा चालू खाता ४९ अर्ब ५३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ६५ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।
वैदेशिक लगानी घट्यो
सो अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई छ अर्ब ८५ करोड रुपियाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई सात अर्ब ६६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रहेको थियो ।
शोधनान्तर स्थिति बचतमा
सो अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।
रेमिट्यान्स बढ्यो
समीक्षा अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.१ प्रतिशतले वृद्धि भई ४९५ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड रुपियाँ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७.७ प्रतिशतले बढेको थियो ।

