उत्तराखण्डको बाढीमा ११ नेपाली बेपत्ता !

काठमाडौँ – भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर करिब एक दर्जन नेपाली बेपत्ता भएका छन्। भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेर आएको बाढीमा परी ११ नेपाली बेपत्ता भएका हुन्।

मंगलबार चमोली जिल्ला प्रहरीले एक सूचना जारी गर्दै १ सय ८० जना अझै बेपत्ता रहेको बताएको छ। चमोली जिल्ला प्रहरीका अनुसार बेपत्ता हुने मध्येमा ११ जना नेपाली समेत छन्।

ऋषिगंगा जलविद्युत परियोजना र तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजनामा काम गर्दै आएका नेपाली कामदारहरु बेपत्ता भएको र अहिले सम्म फेला नपरेको चमोली जिल्ला प्रहरीले जनाएको छ।

त्यस्तै बेपत्ता रहेका केहि नेपालीको उद्धार पनि भएको छ। इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले चार जना नेपालीलाई जीवितै उद्धार गरेको हो।

२६ को मृत्यु, १८० अझै बेपत्ता

उक्त हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ ।

हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् । मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ ।

दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए ।

विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ । धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो ।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१७:२०

ओलीले भने – “निर्वाचन हुन्छ, कामलाई निरन्तर अघि बढाउनुुस्”