काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आउने निर्वाचनमा केपी शर्मा ओलीको ‘पत्तासाफ’ हुने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित विरोधसभालाई सम्बोधन गर्नेक्रममा खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो हार बेहोर्ने बताएका हुन्। विरोधसभालाई सम्बोधन गर्दै खनालले दुई वर्ष पछि हुने चुनावमा ओलीको जमानत जफत हुने दावी गरे।
“मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौँ। आगामी चुनावमा दुई तिहाई होइन, तपाईंको जमानत जफत हुनेछ। अब दुई वर्षपछि यो देशमा चुनाव हुनेछ। त्यत्तिबेला तपाईंको जमानत जफत हुँदैछ।”,उनले भने।
त्यस्तै खनालले नारायणहिटीमा केहि हजार मान्छे उतार्दैमा त्यसलाई जनप्रदर्शन बन्न नमिल्ने पनि बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका खनालले प्रचण्ड तथा माधव नेपाललाई प्रधानमन्त्री बनाउन नभई आफुहरु संविधान र व्यवस्था जोगाउन आन्दोलित भएको बताए।
“हामीहरु कमरेड प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन एउटा कुर्सीका लागि लडिराखेका छैनौँ। केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका निम्ति लडिराखेका छौँ।”,उनले भने।