काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली क्याबिनेटमा दुई मन्त्री फिर्ता हुन लागेको खुलासा गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित विरोधसभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओली क्याबिनेटमा रहेका दुई मन्त्री फिर्ता हुन लागेको दावी गरेका हुन्। ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डको भनाई छ।
विरोध सभामा बोल्दै प्रचण्डले विभाजित नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको साथ छाडेर आफूहरुलाई साथ दिनेहरुको संख्या बढेको दावी गरे। ओली समूह छाडेर आफ्नो पक्षमा लाग्नेहरुको सूची लामै रहेको उनको दावी छ।
“फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन्। केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ। लामो लिस्ट भन्न सक्छु। अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्।”,प्रचण्डले भने।
यस्तै प्रचण्डले बुधबारको सभामा पाँच लाभ मानिस उपस्थित रहेको पनि दावी गरेका छन्। आफूहरुको पक्षमा पाँच लाख जनता आएको कुरा सर्वोच्च अदालतका न्यायाधीशले देखेको हुने भन्दै प्रचण्डले संसद पुनः स्थापना हुने अपेक्षा व्यक्त गरे।
“केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ?”,उनले भने,”मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ। हिजो सानो समूहले विद्रोह गर्दा के भयो? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने? सानो समूहको कुरा सुन्ने हुनसक्छ?”

