दाहाल–नेपाल पक्षको विरोधसभा: अदालत र आयोग निशानामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार राजधानीमा फेरी शक्ति प्रर्दशन गरेको छ । देशभरीबाट बस बसमा कार्यकर्ता ल्याएर भृकुटीमण्डप अगाडी मुल सडकमा गरिएको विरोधसभामा विशेषगरी सर्वोच्च अदालत र निर्वाचन आयोगलाई निशाना बनाइएको थियो । राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने शिर्ष नेताहरुले सर्वोच्च र आयोगलाई छिटो र आफ्नो पक्षमा निर्णय गर्न दबाव दिएका थिए । अध्यक्ष पुष्पकमल दाहालले चेतावनीपूर्ण भाषामा सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जनताको भावनामाथि खेलाची नगर्न चेतावनी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै त्यसलाई नमान्न पनि आग्रह गरे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘संवैधानिक निकायले राम्रोसँग बुझुन् । केपीका डर, धाकधम्की हैन । हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो… काइते कुरा । काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ । अहिले आयोगका केही केही मान्छेहरु खोई के हो के हो… अहिले नभनौं, भन्यो भने फेरि बिग्रने हो कि’, अध्यक्ष दाहालले भने, ‘तर, ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै । हामीले सुरुमा गएर भनेका हौं हामी हो पार्टी भनेर । ३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा । त्यसलाई हिसाब नगर्ने अनि केपी ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेर्नुभयो भने तपाईंहरुको खुट्टी पनि देख्छन् नेपाली जनताले । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’

संवैधानिक नियकायमा पुगेकाहरूले खेलाची गरे देश र जनताले दुःख पाउने उनले चेतावनी समेत दिए । ‘खेलाची कसैले नठाने हुन्छ,’ उनले भने, ‘संवैधानिक नियकायमा पुगेका मान्छेले खेलाची गरे भने देश र जनताले दुःख पाउँछन् । देश र जनतालाई दुःख पाउने काम कसैले गर्नु हुँदैन ।’ आयोगमा पार्टीको विवाद पुगेपछि त्यसलाई स्पष्टिकरण दिएका दाहालले विघटनको मुद्दाका विषयमा पनि धारणा राखेका थिए । ‘कतिपले अदालतको अपमान भयो भन्छन्,’ उनको भनाइ छ, ‘मैले अदालतको कहिले पनि अपमान गरेको छैन । मैले भरोसा पनि गरेको छु । मैले भनेको छु, छिटो गर्देउ भनेको छु बरु । गर्ने त्यही हो, छिटो गर ।’

सभामा जनताको उपस्थिति पनि सर्वोच्च अदालतका न्यायाधीशले देखेको आफूले ठानेको भन्दै दाहालले संविधानको अक्षर र भावना विपरीत गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे । ‘मलाई लाग्छ, यो लाखौंको उपस्थिति सर्वोच्च अदातका न्यायाधीशले पनि देख्नु भएको छ, आज राम्रोसँग,’ उनले अगाडी भनmे ‘जनता के चाहेका छन्, जन भावना के छ ? मलाई लाग्छ, सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले यो जनभावनालाई हेर्नु भएको छ र अब छिटै ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुने छ भनेर म विश्वास व्यक्त गर्न चाहान्छु ।’
प्रतिनिधिसभा पुनःस्थापना भएन भने के हुन्छ भन्ने विषयमा उनले अगाडी भने, ‘मैले शुरुदेखि भन्दै आएको छु, यदि संविधानको अक्षर र भावना विपरीत, नेपाली जनताको चाहाना र आकांक्षा विपरीत केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने छ । त्यो नेपाली जनतालाई सह्यि हुने छैन । जनताको यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? प्रत्येकले विचार गर्न जरुरी छ ।’ दाहालले प्रधानमन्त्री ओली पशुपतिनाथको मन्दिरमा गएकोमा आपत्ति प्रकट गरे ।

सो समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि ओली पशुपतिनाथ गएको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । नेपालले प्रधानमन्त्री ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताए । अध्यक्ष नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने उल्लेख गरे । ‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नु भएको छ’, नेता नेपालले भने, ‘तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।’ सभा अघि राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो । सभामा यसपटक १४ जना वक्ता राखिएको थियो ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७०७:३३

मन्त्रीहरूको बडिगार्ड कटौती !