काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति आक्रोश जताएका छन्। थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका हुन्।
बिहिबार दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्ध गरेको कसूर आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेपछि नेता थापाले ट्वीट गर्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले एक ट्वीट मार्फत प्रश्न गरेका छन्, “कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !”
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।— Gagan Thapa (@thapagk) February 11, 2021
त्यस्तै, थापाले सत्य बोल्नेको मुख यस्ता कदमले बन्द नहुने भन्दै सरकारलाई अझै झ्यालखानाको सङ्ख्या थप्न भनेका छन्। “सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।”
बिहिबार महानगरीय अपराध महाशाखाका अनुसार झाँक्रीले राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई पक्राउ गरेको हो। यसअघि प्रहरीले सोधपुछका लागि बोलाउँदा झाँक्रीले महाशाखा जान अस्वीकार गरेकी थिइन्। उनलाई पक्राउ गर्न प्रहरी उनकै निवासमा पुगेको थियो। तर उनले यो यो राजनीतिक मुद्दा भएकोले आफूलाई पक्राउ गर्नको लागि पक्राउ पूर्जी लिएर आउन आग्रह गरेकी थिइन्।
झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाइएको थियो ।

