‘ह्वाट इज योर ग्रेन्डफादर नेम’ भनेर सोध्दा उत्तर दिन सकेनन्, गयो ज्यान !

काठमाडौँ – शिक्षकको कुटाईका कारण झापामा एक बालकको ज्यान गएको छ।झापाको चम्पापुर माध्यमिक विद्यालयमा शिक्षकको कुटाईबाट एक बालकको ज्यान गएको हो।

ज्यान गुमाउनेमा कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशी रहेका छन्। उनको बिहिबार ज्यान गएको प्रहरीले जनाएको छ।

उक्त घटनामा दोषी रहेको आरोपमा प्रहरीले विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको प्रश्नको उत्तर दिन नसकेपछि मगरले राजवंशीलाई कुटेका थिए। मगरको कुटाईका कारण कान सुन्निएपछि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो भने सामान्य उपचार पछि नलाई घर पठाइएको थियो।

मगरले कुटेको कुरा बालकले घरमा भनेका थिएनन्। उनको अवस्था थप बिग्रिएपछि मात्र शिक्षकले कुटेको अभिभावकले थाहा पाएका थिए। उनलाई तत्काल बिर्ता सिटी हस्पिटल लगिएपछि त्यहाँ उपचार हुन सकेन। त्यहाँ बाट उनलाई बी एन्ड सी अस्पताल पुर्याइयो। त्यहाँ पनि उपचार हुन नसक्दा उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज लागिएको थियो। तर, अस्पताल पुर्यार्एर उपचार शुरु गरेलगत्तै उनको ज्यान गयो।

उक्त विद्यालयमा पढाउने एक शिक्षकका अनुसार मगरले राजवंशीलाई ‘ह्वाट इज योर ग्रेन्डफादर नेम’ भनेर सोधेका थिए। त्यसको उत्तर दिन नसकेपछि मगरले कान तानेको र त्यसपछि उनी बिरामी परेको ती शिक्षकको भनाई छ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले शिक्षकले सामान्य कान तानेको भए पनि बालकको पुरानै बिरामी निमोनियाका कारण निधन भएको दावी गरेका छन्।

प्रकाशित : शुक्रबार, माघ ३०, २०७७०९:१६

“अब केपी ओली कम्युनिष्ट रहेनन्”