किमाथाङ्का – टिपरको ठक्करबाट सङ्खुवासभामा एक जनाको ज्यान गएको छ। सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका छन्। खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले बताए । ठक्कर दिने टिपर अरुण तेस्रोको रहेको बताइएको छ।
टिपरको ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् । ठक्करबाट ज्यान गुमाउने राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी रहेका छन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राईका श्रीमानश्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको शिक्षक हित कार्कीले जानकारी दिए।
अहिले स्थानीयले खाँदबारी किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्ध समेत पारेका छन् ।