एजेन्सी – बुन्डेसलिगाको जारी सिजनमा बोरुसिया डर्टमण्ड खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। हाल डर्टमण्ड बुन्डेसलिगाको छैठौं स्थानमा छ। शिर्ष स्थानमा रहेको बायर्न म्युनिख भन्दा १६ अंकले पछि छ।
गत सिजनको च्याम्पियन बायर्नलाई टक्कर दिन सक्ने अनुमान गरिएपनि डर्टमण्डले च्याम्पियन्स लिग छनोटकै लागि संघर्ष गर्नुपर्ने अवस्था छ। विश्वका ठूला क्लबले आँखा लगाएका खेलाडी भएर पनि क्लबले खासै राम्रो प्रदर्शन गर्न नसक्नुलाई धेरैले आश्चर्यजनक मानेका छन्।
डर्टमण्ड अहिले कोरोनाका कारण चरम आर्थिक समस्याबाट पनि गुज्रिरहेको छ। जसकारण उसलाई क्लबका केहि खेलाडी बेच्न ठूलो दबाव छ। विश्व फुटबलमा राम्रो प्रभुत्व जमाउन सक्ने क्षमता भएका केहि खेलाडी बेच्न पर्ने बाध्यात्मक अवस्थामा डर्टमण्ड छ।
विभिन्न खेल संचार माध्यमहरुका अनुसार डर्टमण्डले आर्थिक समस्या टार्नको लागि ८ खेलाडी बेच्ने तयारी गरिरहेको छ। डर्टमण्डले ती खेलाडीहरुको सूची नै तयार पारेको बताइन्छ।
उक्त सूचीमा युवा स्टार अर्लिङ ब्राउट हालाण्ड र जाडो सान्चो समेत छन्। यी दुईका आलावा जुडे बेलिङघम, म्यानुयलएकान्जी, राफेल गुरेरियो, जियोभन्नी रेना महमूद दाहौद र एक्सेल विट्सेललाई पनि डर्टमण्डले विक्रीको सूचीमा राखेको विभिन्न खेल संचार माध्यमहरु बताउँछन्।
क्लबले विक्री गर्न लागेका खेलाडी मध्ये हालाण्ड र सान्चो धेरै क्लबको प्राथमिकतामा छन्। हालाण्ड माथि लिभरपुल, रियल म्याड्रिड, बार्सिलोना सहित म्यानचेस्टर सिटिको नजर छ। त्यस्तै सान्चोलाई पनि म्यानचेस्टर युनाइटेड सहित युरोपका ठूला क्लबहरुले प्राथमिकतामा राखेका छन्।
हालाण्डलाई म्यानचेस्टर सिटिले सर्जियो अगुएरोको दीर्घकालीन उत्तराधिकारीको रुप हेरेको र उनलाई अनुबन्ध गर्ने योजना सहित अगाडी बढेको बताइन्छ। त्यस्तै सान्चोलाई पनि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने प्रयास गर्ने छ।