चडेपानी (बैतडी) : घरको ढोका बन्द थियो। आँगनमा भने चहलपहल थियो। आँगनको एक छेउमा सेतो पहिरनमा थिइन्, द्रोपती भट्ट। त्यहाँ भेला भएका मानिसबीच द्रोपती भक्कानिँदै भनिरहेकी थिइन्, ‘तई झट्ट घर आ भण्या, मुई कईका मुख हेरिबरे भीतर झाउँ ?’ अर्थात् ‘तँ छिटो घर आइज, म कसको अनुहार हेरेर भित्र जाऊँ ?’ द्रोपतीलाई छोरी भागरथी आउने आशा अझै थियो कि ! यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
घरभित्र रहेका भागरथीका सामान आफन्तको माथिल्लो घरमा सारिएका छन्। ‘भित्र जाने, उसको लुगा समातेर रुने, उसको पर्समा फोटो हेरेर कराउने, उसको काइँयो र प्रयोग गर्ने सामान भेट्यो कि रोइहाल्ने भएकाले सामान सारिएको छ’, भागरथीका काका शिवराज भट्टले भने।
माघ २१ गते बिहान द्रोपतीलाई घरधन्दामा सघाएकी भागरथी अब कहिल्यै नफर्किने भएकी छन्। ब-ला-त्का-रपछि ह-त्या गरिएको अवस्थामा भागरथी मृत भेटिएकी थिइन्। उनको शव माघ २३ गतेदेखि जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ।
मधुमेहबाट पीडित उनका बुवा ५० वर्षीय कृष्णानन्द भट्टको पुस ७ गते धनगढीको सारथि अस्पतालमा निधन भएको थियो। स्थानीय संस्कारअनुसार द्रोपतीले १३ दिन पतिको किरिया गरिन्। उनले सेतो लुगा पहिरिएकी छन्। त्यो दिन बिहान गोठपात (वस्तुभाउको गोठको काम) गर्दा गर्दै ढिलो भयो।
‘विद्यालय जानुअघि खाना बनाउँथेँ। तर, त्यो दिन ढिलो भयो भनेर बासी रोटी खाएर स्कुल गई। एक चुल्ठी बाटिरहेकी थिई। मलाई मम्मी अर्को तँ बाँटी दे भनी, हतार भएकाले होला, सधैँ दुई चुल्ठी बाटेर मात्र हो स्कुल जाने’ भक्कानिँदै द्रोपतीले भनिन्, ‘मेरी छोरीको ह-त्या-रालाई फाँ-सीको सजाय हुनुपर्छ।’

