भिड ठुलो देखाउने निहुँमा भड्किलो खर्च, एक बस मान्छे ओसारेको यति सम्म तिर्ने रहेछन् !

काठमाडौं । ‘अहिले देख्दा भ्रष्टाचार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी रोकिन्छ भ्रष्टाचार’, यी भनाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका हुन् । चन्दकै भनाई जस्तै जस्तै छ नेपालको राजनीति र निर्वाचन । प्रतिनिधिसभा विघटनपछि नेपालको राजनीतिक एकाएक तातेको छ । दलहरुले दैनिक जसो प्रर्दशन र शक्ति देखाउने काम गरिरहेका छन् । निर्वाचनमा समेत चर्को लगानी गरेका दलहरु पछिल्लो पटकका प्रर्दशनमा पनि निक्कै चर्को खर्च गर्नुपर्ने तथ्यहरुले देखाउछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले राजधानीसहित देशका विभिन्न भागमा पटक पटक शक्ति प्रर्दशन गरेका छन् । तर, शक्ति प्रर्दशनका लागि कति खर्च भयो भनेर कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । सरकारमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपा वा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा दुवैले अहिलेसम्म हिसाबकिताब देखाउन चाहेका छैनन् । दलहरुले जनताको बीचमा जानु लोकतन्त्रको सुन्दर पक्ष हो । तर, भिड ठुलो देखाउने निहुँमा भड्किलो खर्च गर्नु राजनीतिकै लागि प्रत्युपादक हुन्छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

राजधानीमा आयोजना भएका चार वटा आमसभा मध्ये तीन पटक दाहाल–नेपाल खेमा र अर्को एक पटक ओली खेमाले गरेका छन् । ति आमसभामा करिब चार देखी पाँच करोड खर्च भएको नेकपाकै नेताहरु बताउछन् । दुवै पक्षले राजधानी बाहिरबाट ठुलो संख्यामा बसमा मानिसहरु काठमाडौं लिएर आएका थिए । प्रदेश–२, बागमति, गण्डकी र लुम्बिनी प्रदेशसम्मबाट बसमा कार्यकर्ता ओसारेका थिए । दुवै पक्षको कार्यकर्ता बाराबाट ओसारेका बस चालक महोत्तरी साम्सी गाउँपालिकाका रामबाबु ठाकुरले एक आउँदा जाँदा ४० हजार लिने गरेको बताए । शुरूमा दाहाल–नेपाल पक्षको सभाका लागि मान्छे बोकेका उनले दोस्रोपटक ओली पक्षको सभाका लागि पनि मान्छे ल्याए । तेस्रोपटक सभाका लागि काठमाडौं आएका उनले एक पटकको गाडी भाडा ४० हजार रुपैयाँ लिने गरेको बताए ।

५० वटा गाडी सँगै आएको उनले बताए । दुई सिटमा ४ जनासम्म बसेर आएको उनले जानकारी दिए । उनले २० हजार रुपैयाँ अग्रिम लिएका रहेछन् । उनले भने अनुसार मान्ने हो भने ५० बसको भाडामात्रै २० लाख देखिन्छ । उनिजस्ता गाडी लिएर आउनेको संख्या निक्कै ठुलो थियो । राजधानी आसपासका जिल्लाबाट आउनेको गाडी भाडा कम भएको देखिन्छ । औसतमा १५ हजारदेखी ४० हजार रुपैयाँसम्म प्रतिबस खर्च हुने देखिन्छ । काठमाडौं आएपछि खानाको व्यवस्था पनि पार्टीहरुले गरेका थिए । काठमाडौं उपत्यकामा रहेका क्याटरिनले प्रतिव्यक्ति कम्तिमा दुई सयदेखी तीन सय रुपैयाँसम्म खर्च भएको देखिन्छ । दुवै पक्षले विपक्षको गरेको आंकलन अनुसारकै मान्छे आएको मान्ने हो भने पनि १५ हजार बाहिरबाट आएको अनुमान लगाउन सकिन्छ । १५ हजारलाई ३० देखी ४५ लाख रुपैयाँसम्म खर्च खानामा गरेको देखिन्छ । जसले गर्दा एउटा सभामा सामान्य खर्च गर्दा पनि एक करोडले नपुग्ने देखिन्छ ।

यसैगरी मञ्च, सजावट, पार्टीका झण्डा, साउण्ड सिस्टम लगायतको खर्च हुने नै गर्छ । सभामा आएका कतिपयले त आफुहरुलाई खर्च समेत दिएको बताएका थिए । त्यसको हिसाब कति हुन्छ अहिलेसम्म कसैले पनि यकिन गर्न सकेका छैनन् । दलहरुले सभा गरेपनि त्यसको आर्थिक पाटोको पारदर्शी जनतालाई देखाउनुपर्ने हुन्छ । दलहरुले पारदर्शीता अपनाएमात्र जनताको समेत मन जित्न सक्ने देखिन्छ । कतिपयले यस्ता खर्च उठाउन दलहरुले सत्तामा रहँदा भ्रष्टचार गर्ने वा बाहिर रहँदा कुनै व्यापारीसँग लिने र पछि उनिहरुका अवैध काम सरकारमा रहँदा गर्ने आरोप लाग्दै आईरहेको छ ।

प्रकाशित : शनिबार, फागुन ०१, २०७७०७:५३

‘फ्रोजन फुड’ले स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर