काठमाडौं । कोरोना महामारीका बेला खोप कहिले आउँछ भनेर निक्कै चासोका साथ हेरिएको थियो । नेपालमा कहिले खोप आउँछ भनेर जिज्ञासा राख्ने गरिएको थियो । तर, नेपालमा खोप आएको लामो समय हुँदा पनि सोचेजति खोप लगाउन आएका छैनन् । भारतले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । खोप लगाउनेको चाप बढि हुने ठानेर सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभाजन गरेको थियो । जसमध्ये पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनालाई खोप लगाउने बताएको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
४ लाख ३० हजार जनालाई लक्षित गरेपनि एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्रै खोप लगाएका छन् । सरकारले भनेको संख्याभन्दा आधाभन्दा धेरैले खोप नलगाएको पाइएको छ । पहिलो चरणमा खोप लगाउने कम भएपछि पत्रकार, संयुक्त राष्ट्रसंघसँग सम्बन्धित संस्था, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई लगाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीको तुलनामा अन्य व्यक्तिहरुले खोप कम लगाएको बताए । ‘स्वास्थ्यकर्मीले ८० प्रतिशतले लगाए । उनीहरुको तुलनामा अरुले कम लगाएका छन’, उनले भने, ‘खोप हामीले जिल्लाको सदरमुकाममा लगाएका थियौँ । स्वयमंसेविकाहरु हिँडेर गाउँगाउँबाट आउनु पर्ने भयो । त्यसो भएर उनीहरुले लगाउन पाएनन् ।’
डा. गौतमका अनुसार सही परामर्श दिन नसकेका कारण धेरै जसो कैदीहरुले खोप लगाएका छैनन् । उनी भन्छन्,‘पहिलो चरणका हामीले जेल बसेकाहरुलाई पनि खोप दिएका थियौँ । जेलमा ३५ देखि ४० प्रतिशतले मात्रै लगाएका छन् । त्यहाँ राम्रो काउन्सिलिङ पुगेन ।’ निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको तथ्यांक नहुँदा खोप लगाउनेको संख्यामा कमी देखिएको डा. गौतम बताउँछन् । सरकारले उल्लेख गरेको संख्याले खोप नलगाउनुमा दुई वटा कारण हुन सक्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासेनीले बताए । उनले भने, ‘खोप लगाउनका लागि कतिपयको पहुँच भएन । कतिपयले थाहा पनि नपाएका हुन सक्छन् । कतिपयले डरले लगाएका छैनन् । गाउँबाट सदरमुकाममा आएर बस्नका लागि दुर्गममा धेरै सहज छैन । चार–पाँच दिन लगाएर हिँडेर पुग्नु पर्ने ठाउँ पनि छन् ।’
गत १४ माघदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको सरकारले फागुन २ गतेदेखि पहिलो चरणको दोस्रो प्राथमिकता निर्धारण गर्दै खोप अभियान सुरु गर्ने भएको छ । दोस्रो चरणको खोप अभियानमा स्थानीय तहका जनप्रतिनिधिदेखि फ्रन्टलाइन कर्मचारीले खोप पाउने छन् । प्रवक्ता डा. गौतमका अनुसार फागुन २ गतेदेखि जिल्लास्थित सेवा प्रदायक सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुका कर्मचारीहरुले खोप पाउने छन् ।
यस्तै पहिले छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव–व्यवस्थापनमा खट्नेहरु, एम्बुलेन्स चालक तथा शव–वहान चालकले खोप पाउने डा. गौतमले बताउँछन् । ‘यहि चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरु, स्थानीय पालिकाका कर्मचारीहरु, सशस्त्रको विओपीमा खटिएका, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकका कर्मचारीहरु सार्वजनिक संस्थानका कर्मचारीहरु, यातायात, मालपोत जहाँ धेरै भीडभाड हुन्छ । त्यहाँका कर्मचारीलाई हामीले लगाउँदै छौँ’, उनले भने,‘त्यही बेला पहिला छुटेका व्यक्तिहरुलाई खोप लगाइने छ । यदी फेरि पनि यो पटक उनीहरु छुटे वा लगाउन पाएनन् भने फेरि दोस्रो चरणमा गाउँघरसम्म पुग्छौँ । त्यो बेला लगाउन पाउने छन् ।’
यस्तै मन्त्रालयले आगामी फागुन २३ गतेदेखि उमेर समूह अन्तरगर्त आम सर्वसाधारणलाई खोप दिन सुरु गर्ने समेत जनाएको छ । त्यसबेला नै शिक्षक, गाडी चालक, पाइलट तथा एयर होस्टेजहरुलाई पनि खोप दिन सुरु गरिने छ । सोही दिनदेखि ५५ वर्षमाथि उमेर समूहका लागि खोप दिने योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । यस्तै फागुन २३ गतेबाट नै पहिलो चरणमा खोप लिइसकेका व्यक्तिको दोस्रो चरणको खोप सुरु हुनेछ ।