काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड भीख माग्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पोखरेलले प्रचण्ड भीख माग्नुपर्ने अवस्थामा पुगेका टिप्पणी गरेका हुन्। नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पोखेरेलले पार्टी फुटाएर लाभ लिन खोज्दा प्रचण्ड भीख माग्नुपर्ने अवस्थामा पुगेका दावी गरे।
उनले वैशाखमै चुनाव हुने दावी पनि गरेका छन्। आउने चुनावबाट प्रचण्ड बिलाएर जाने उनको दावी छ। तत्कालिन माओवादीको पकड रहेको रोल्पा र रुकुममा समेत ओली नेतृत्वको नेकपाले जित्ने उनले दावी गरे। ढाडमा टेकेर पटक-पटक अर्काको टाउको हान्न खोज्दा प्रचण्ड सडकमा पछारिन पुगेको उनले बताए।
उनले भने,”रोल्पा र रुकुममा पनि ओली नेतृत्वको पार्टीले चुनाव जित्छ। प्रचण्ड र माधव चुनावबाट डराएर भागिरहेका छन्। ढाडमा टेकेर पटक-पटक अर्काको टाउको हान्न खोज्दा प्रचण्ड सडकमा पछारिन पुगे।”
यस्तै पोखरेलले लुम्बिनी प्रदेशका जनता ओलीको पक्षमा रहेको पनि बताएका छन्। प्रधानमन्त्रीलाई होस्टेमा हैसे दिन जनताले पनि चाहेको उनले बताए।
“लुम्बिनी प्रदेशका जनताका कसको पक्षमा छन् ? के चाहन्छन भन्ने कुरा आजको आमसभाले देखाइ दिएको छ। यहाँका जनता, स्थायित्वको पक्षमा, स्वाधीनताको पक्षमा, विकासको पक्षमा रहेको आज देखाइ दिएका छन्।”,उनले भने।