काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली विदेशी सेटिङमा चलेको आरोप लगाएका छन्।
शनिबार भट्टराई आफैंले लेखेको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ नामक पुस्तक लोकार्पण गर्न आयोजित कार्यक्रममा बोल्ने क्रममा भट्टराईले ओली विदेशी सेटिङमा चलेको आरोप लगाएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसद विघटन गरेर ओलीले प्रतिगमन मात्र नभई प्रतिक्रान्ति गरेको आरोप पनि लगाए। अन्तरराष्ट्रिय सेटिङको आधारमा ओलीले उक्त कदम चालेको उनको आरोप छ।
“प्रधानमन्त्री ओलीको कदम प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तितर्फ गएको छ। अन्तरराष्ट्रिय सेटिङको आधारमा अहिले ओलीले कदम चालेको छन्।”,भट्टराईले भने।
लामो समयसम्म लडेर ल्याएको ल्याएका कारण प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्ने र ओलीको कदमविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए। ओली नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको आरोप उनले लगाए। समय सँगै ओलीको मुखौटो उत्रिने उनको भनाई छ।
त्यस्तै भट्टराईले ओलीको प्रतिगमनका विरुद्ध युवा पुस्ता उत्रिएको देखेर उत्साह समेत व्यक्त गरेका छन्। युवा पुस्ता समेत सडकमा उत्रिरहेका बेला सम्पूर्ण दलहरु ओलीको प्रतिगमन विरुद्ध लाग्नुपर्ने उनको बुझाई छ।
उनले भने,”नयाँ पुस्ताहरू समेत सडकमा आइरहेका छन्, सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्छ। कांग्रेसमा रामचन्द्र पौडेलजी लागि राख्नुभएको छ। उहाँका अन्य नेताहरूले चाहिँ पदको लोभ भएर वा के भएर खुट्टा कमाइए राख्नुभएको छ, त्यसको विरुद्ध लाग्नुपर्छ।”

