काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू छुट्टै पार्टीमा रहेर पनि अलग हुन नसक्ने बताएका छन्।
भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भट्टराई र आफू फरक-फरक पार्टी र स्थानमा रहेपनि अलग हुन नसक्ने बताएका हुन्।
विगतमा आफूहरुले गरेका कर्मका कारण भट्टराई र आफूलाई अलग हुन नदिने प्रचण्डले बताए। इतिहासको आफ्नो कर्मको कारणले आफूहरु अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो विगतका कर्मले नजिक ल्याउने प्रचण्डको भनाई छ।
“इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो हाम्रा आफ्ना कर्मले हामीलाई नजिक ल्याइ नै राख्छ। हामीलाई अलग हुन दिँदैन।”,प्रचण्डले भने,”ती हजारौँ सहिदले हामीलाई अलग हुन दिँदैनन्। हजारौँ घाइते र अपांगले हामीलाई अलग हुन दिन्नन्। ती हजारौँ बेपत्ता हाम्रा योद्धाहरुले पनि हामीलाई अलग हुन दिन्नन्।”
भट्टराई र आफू अहिले फरक पार्टीमा रहेपनि परिस्थितले अहिले एउटै मोर्चामा उभ्याइदिएको प्रचण्डले बताए। उनले भने,”अहिले बाबुराम जी र म एउटै पार्टीमा त छैनौँ। तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौँ।”
इतिहासका ती दिनले आफूहरुलाई एक ठाउँमा आउन प्रेरित गरेको भन्दै पुस्तक विमोचन कार्यक्रममा निमन्त्रणा दिएको प्रति प्रचण्डले डा. भट्टराईलाई धन्यवाद समेत दिए।
शनिबार बालुवाटार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रचण्डसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका वरिष्ठ नेता अशोक राई र लेखक/विश्लेषक तुलानारायण शाह लगायतको सहभागिता थियो।

