एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टस र एसी मिलानले हार भोगेको छ । युभेन्टस घरेलु टोली नेपोलीसँग १–० ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
उनले खेलको ३१औं मिनेटमा गोल गरेका थिए । जर्जियो चिलियानीले पेनाल्टी बक्समा बल क्लियर गर्ने क्रममा रहमानीलाई हातले हिर्काएपछि रेफ्रीले भिएआरको सहायता लिदै नेपोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा इनिसग्ने चुकेनन् ।
एक गोलले पछि परेको युभेन्टसले बल पोसेसनमा बलियो पकड बनाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली १–० ले विजयी हुन सफल भयो । यो जितसँगै नेपोली २१ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित युभेन्टस ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा शीर्षस्थानमा रहेको एसी मिलान स्पेजियासँग २–० ले स्तब्ध बनेको छ । स्पेजियाका गुइलियो माजियोरे र सिमिओन बास्टोनीले गोल गरे ।यो जितसँगै स्पेजिया २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा उक्लदा मिलान २२ खेलबाट ४९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ४७ अंक छ ।