सिद्धबाबा बारे अदालतको फैसला – “सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न मिल्दैन”

काठमाडौं । बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । एक वर्षअघि आफ्नै अनुयायीलाई बलात्कारको मुद्दामा पक्राउ गिरीलाई उनी पक्षका वकिलले मात्रै गरेको बहसका आधारमा २२ मंसिरमा सुनसरी अदालतका न्यायाधीश अर्जुन कोइरालाको ‘बेन्च’ले सफाइ दिएको हो । गिरीलाई सफाइ दिएको जिल्ला अदालतले फैसलाको पूर्ण पाठ भने करिब २ महिना लगाएर माघ २९ मा तयार गरिएको छ । न्यायाधीश कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध भएकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

७६ पृष्ठ लामो आदेशको पूर्ण पाठमा करणी भएको समयलाई विभिन्न कोणबाट अदालतले व्याख्या गरेको छ । व्याख्यामा अदालतले सिद्धबाबाले करणी गरेको भए पनि त्यसलाई जबरजस्ती भन्न नमिल्ने तर्क गरेको छ । पटक पटक महिलाले नै यौनसम्बन्धका लागि आव्हान गरेपछि सिद्धबाबा मोहित भएको व्याख्या अदालतले गरेको छ ।
फैसलाको बुँदा नम्बरमा ६५ मा भनिएको छ ‘तसर्थ माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निजउपर जबरजस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा रहेकी छन् भन्ने कुरा निजले प्रतिवादीलाई पठाएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिए अनुसार निज स्वयमले नै आफूले प्रयोग गर्ने मोबाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनय अनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग । भइ आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरुबीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दावी स्थापित हुन आएन । तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’

यस्तो छ अदालतको ठहर
शारीरिक सम्बन्ध हुँदासम्म दुवैजना सहमतिमै रहेको व्याख्या अदालतले गरेको छ । सम्बन्धपछि पीडित भनिएकी महिलाले सिद्धबाबालाई पठाएको म्यासेज श्रीमानले हेरेपछि घटनाले जबरजस्ती करणीको मोड लिएको अदालतको आदेशमा उल्लेख छ । सिद्धबाबा र महिलाबीचको म्यासेज पीडितका श्रीमानले देखेपछि उनीहरूबीच विवाद भएपछि मात्रै उजुरी परेकाले सहमतिमै सम्बन्ध भएको न्यायाधीश कोइरालाको ठहर छ । बयानका क्रममा सिद्धबाबाले आफू आगो र स्त्री स्पर्श नगर्ने त्रिदण्डी सिद्धबाबा भएको जिकिर गरेका थिए ।

तर, पशुपति सिद्ध महायोग नामक फेसबुक आइडीबाट धेरै पटक ’लभ साइन’ पठाएको अनुसन्धानका क्रममा खुलेको थियो । यी दुईजना बीचको फेसबुक म्यासेन्जर च्याटलाई समेत पूर्ण पाठमा उल्लेख गरिएको छ । फेसबुक म्यासेन्जरसँगै करणी भएको दिन सिद्धबाबाले चलाउने ९८५२०२५८८५ नम्बरबाट पठाएका म्यासेजमा प्रेमासययुक्त भएकाले सम्बन्ध भएको पुष्टि हुने फैसलामा छ ।

‘खासगरी जाहेरवालीको पतिले प्रतिवादी र जाहेरवालीबीचको यौन सम्बन्ध थाहा पाएपछि घटनाले नयाँ मोड लिएको देखिन्छ । समाजमा स्त्री र आगोलाई स्पर्श नगर्ने त्रिदण्डी सिद्ध बाबाको नामले प्रसिद्धि कमाएका तथा हजारौँ अनुयायीमार्फत् ठूलो धार्मिक अखडा चलाएका प्रतिवादीलाई उक्त सम्बन्ध बाहिर आउँदा मात्रै गम्भीर असर पर्ने भएकाले त्यसलाई ढाकछोप गर्ने थुप्रै प्रयत्न भएका मिसिलमा देखिन्छन् ।

त्यही क्रममा प्रतिवादीका अनुयायीहरु बुझिएका गोविन्दबाबु तिवारीसमेतबाट जाहेरवाली तथा निजको पतिलाई भेट्ने, सम्झाउने र यौन सम्बन्धका कुरा बाहिर नल्याउन भनेको भन्ने पनि मिसिलबाट खुल्न आएको छ । जाहेरवाली पक्षबाट घटनालाई अतिरञ्जित रुपमा जबरजस्ती करणीको आभास दिई योजनाबद्ध रूपमा बाहिर ल्याउन लागि परेको भन्ने तथ्य प्रतिवादीसँग भएको कुराकानीको रेकर्ड गरी सञ्चारमाध्यमबाट सम्प्रेषण गराइएबाट पनि स्पष्ट भएको छ । पेस भएको उक्त फोन संवादको अडियोमा भएको आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग यौन सम्पर्क नराखेको भए त्यसरी माफी मागी बोल्नुपर्ने कुनै कारण देखिँदैन । यसबाट पेस भएका म्यासेन्जर कुराकानी पनि जाहेरवाली र प्रतिवादीबीच नै भएका रहेछन् भनी सहज ढङ्गबाट अनुमान गर्न सकिने भई निजहरूबीच वारदात भनिएको राति यौन सम्पर्क भएको तथ्य स्थापित भएको पाइयो ।’

14
Shares
facebook sharing buttonShare

प्रकाशित : आइतबार, फागुन ०२, २०७७०८:१८

एकाएक घट्यो दूरी: देउवाले पौडेललाई त्यस्तो के अफर दिए ?