रुपन्देही जिल्लामा प्रचण्ड-नेपाल समूहलाई कडा धक्का, ओली समूह मक्ख !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहलाई रुपन्देही जिल्लामा कडा धक्का लागेको छ। प्रचण्ड-नेपाल समूह निकट रहेका दुई नेता ओली समूहमा प्रवेश गरेसँगै प्रचण्ड-नेपाल समूह रुपन्देही जिल्लामा कम्जोर बन्ने देखिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी दुवैले प्रचण्ड-नेपाल समूह परित्याग गरेका छन्। दुवैले आइतबार प्रचण्ड-नेपाल समूह त्याग्ने निर्णय गरेका हुन्।

घिमिरे र चौधरी दुवै प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसाल निकट मानिन्थे। नेकपा विभाजन तर्फ अगाडी बढेपछि दुवै प्रचण्ड-नेपालमा सक्रिय थिए। तर, आइतबारबाट भने उनीहरु ओली समूहमा प्रवेश गरेका छन्।

घिमिरे र चौधरी मात्र नभई तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले प्रचण्ड-नेपाल समूह परित्याग गरेका छन्। तिलोत्तमा घनश्याम भुसालको गृहनगरसमेत हो।

यसरी अधिकांश नेताहरुले ओलीलाई साथ दिने भएसँगै रुपन्देही जिल्ला हलचल मच्चिएको छ। तिलोत्तमामा भएको राजनीतिक हलचलको असर पूरै जिल्लामा पर्ने अनुमान गरिएको छ।

नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी आफ्नो पक्षमा रहेको पुष्टि गरेका छन्।

पौडेलले आइतबार चौधरी र गौतम आफूहरुको पक्षमा रहेको फेसबुक मार्फत बताइसकेका छन्। एक तस्विर सार्वजनिक गर्दै पौडेलले लेखेका छन्,”साथै छौं, साथै रहनेछौं !”

बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न समेत प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेको बताइएको छ।

प्रकाशित : आइतबार, फागुन ०२, २०७७१४:५०

अब एमाले अलग, माओवादी अलग – प्रचण्ड-नेपाल समूह