मलाई प्रधानमन्त्री पदको कुनै लोभ छैन, म त जनताको लागि लडिरहेको छु: प्रचण्ड

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीको कुनै लोभ नभएको बताएका छन्। उनले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै त्यसको विरुद्धमा पूनर्स्थापनाको आन्दोलनमा होमिएको धारणा समेत राखे।

“मलाई प्रधानमन्त्रीको कुनै पनि लोभ छैन, यो भ्रम कसैमा नरहोस् , प्रचण्डले अहिलेको संघर्ष प्रधानमन्त्री पद पाउनको लागि भन्ने कसैलाई लागेको छ भने त्यो सरासर गलत कुरा हो। म कुनै पदका लागि नभएर देश, जनता, संविधान र लोकतन्त्रका लागि संघर्ष गरिरहेको छु,” प्रचण्डले भने।

प्रचण्डले असंवैधानिक तरिकाले घोषणा गरेको चुनावले पनि देशका कुनै पनि समस्याको समाधान नहुने जिकिर गरेका छन्। अबको चुनाव जितेर प्रधानमन्त्री भएको व्यक्तिले पनि संसद विघटन गर्ने शक्ति आफ्नै हातमा रहने सोच राख्ने उनको भनाइ छ। उनले भने, “चुनावै भएपनि त्यो अलोकतान्त्रिक र असंवैधानिक कदम हुनेछ, अब त कोहि प्रधानमन्त्री भयो भने पनि फेरी आफूलाई विघटनको अधिकार हुन्छ भन्ने नजिर हुन्छ।”

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षका ९० प्रतिशत संसद पनि प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेको दावी गरेका छन्। “ओलीजी कै समूहका ९० प्रतिशत सांसदहरु विघटनको विरुद्धमा छन्,” प्रचण्ड भन्छन्, “उहाँहरुलाई गुटको कारण यो भन्न अप्ठेरो भएको हो नत्र प्राय: संसदसँग एक-एक वार्ता गरेर सोध्यो भने केपीले बर्बाद नै गरे, डुबाए भन्छन्।”

प्रकाशित : मङ्गलबार, फागुन ०४, २०७७१२:३२

अन्य पार्टीसँग पनि कुरा भइसक्यो, अब हुन्छ संयुक्त आन्दोलन: प्रचण्ड