नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि समयभित्रै दलहरु संयुक्त आन्दोलनमा उत्रने बताएका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका नेताहरूसँग कुरा भइसकेको र संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताएका हुन्। प्रचण्डले संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको बताए।
“आन्दोलन भइरहेकै छ तर यसलाई सकेसम्म संयुक्त गरौ भन्ने प्रयास गरिराखेका छौं, हिजै मात्र शेरबहादुर जीलाई यसलाई संयुक्त बनाऔ भन्ने बारेमा उहाँ लगायत रामचन्द्र जी, जसपाका नेताहरुसँग पनि कुरा भैसकेको छ, केहि दिनमा नै यो कुराको टुंगो लाग्नेछ,” उनले भने “मेरो बुझाईमा अबको केही दिनभित्र नै आन्दोलन संयुक्त रूपमा हुन्छ भन्ने विश्वास छ।”