शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक शत्र असारदेखि सुरु हुने बताएका छन्। मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताउँदै उनले यसका लागि आवश्यक पर्ने सबै तयारी पनि मन्त्रालयले गरीसकेको बताए।
“सामान्यतया १२ महिना हुने शैक्षिक सत्र यो वर्ष कोरोना महामारीको कारण १४ महिना हुन पुग्यो। जेठमा एसईई गर्ने तयारी गरेका छौं। त्यसपछि, नयाँ शैक्षिक सत्र असारबाट सुरु हुनेछ। यो वर्षको शैक्षिक सत्र १४ महिनाको भयो, तर अर्को वर्ष यसलाई १० महिनामै सक्ने व्यवस्थापन गर्नेछौं,” मन्त्री श्रेष्ठले भने।
त्यस्तै, उनले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए। आउने दिनमा एच।आइ।भी संक्रमित विद्यार्थीको लागि पनि राज्यको नीति तथा कार्यक्रमबाट निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए।

