जसपाभित्र पनि लफडा !

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने ?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन् ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले संयुक्त आन्दोलनका लागि एजेण्डा पनि संयुक्त हुनुपर्नेमा जोड दिए । राजनीतिक दलबीच संयुक्त एजेण्डामा सहमति हुन नसकेको र प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले ढिलाई भएको उनले जानकारी दिए ।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७०७:३४

ओली दिएको दियै, प्रचण्ड-नेपाल हेरेको हेर्‍यै