काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रह””त्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ। यो समाचार आजको अन्नपुर्ण पोस्टमा प्रकाशित छ।
‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन्। नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने। पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’
उनले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे। निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए।
बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले पार्टीभित्र वरीयताक्रम मिलाउन माग गरे। नेता बलायरले विगतमा आमन्त्रित सदस्य अहिले आफूहरूभन्दा माथि रहेको भन्दै आपत्ति जनाए। ‘१२ औं महाधिवेशनपछि १३ औं महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाले केही आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो’, उनले भने, ‘तर, अहिले उनीहरूलाई हामीभन्दा वरीयताक्रममा माथि राखिएको छ। यो तत्काल सच्याउनु पर्छ।’
उनले क्रियाशील सदस्यता वितरणमा लोभ नगर्न पनि आग्रह गरे। ‘पार्टीको तल्लो तहका कमिटीमै रहेका साथीहरूले सक्रिय सदस्यता पाउने अवस्था छैन। यसलाई बढाउनुपर्छ,’ उनले भने, ‘संगठन बढाउनुपर्छ भन्ने तर सदस्यता नदिने कुरा उचित हुँदैन।’
बैठक बिहीबार दिउँसो ३ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

