हात्तीमा चढेर गैंडाको गणना गरिने !

भैरहवा-विगत ५ वर्षदेखि हुन नसकेको गैंडा गणना यो वर्षको चैत पहिलो साताभित्रै सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले छिटोमा फागुन अन्तिम र ढिलोमा चैत पहिलो साताभित्रै गैंडा गणना गर्ने तयारी भइरहेको र अहिले यसको ८० प्रतिशत काम सकिएको बताए । जाडो महिना सकिएर घाँस सुकेपछि जंगल उजाड भएको समयमा गणनाका लागि उपयुक्त सय मानिने गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

नेपाल र भारतमा मात्र पाइने विश्वमै दुर्लभ प्रजातिका रूपमा लिइने एकसिंगे गैंडाको गणना पछिल्लो समय सन् २०१५मा भएको थियो । गत वर्ष गैंडा गणनाको तयारी थियो तर कोरोना संक्रमण र जोखिमको कारणले हुन सकेको थिएन । “अब हामी अहिले गणनाको अन्तिम तयारीमा छौ, गणना गर्न कम्तिमा ५ हप्ता लाग्छ, त्यो भनेको वैशाख पहिलो साताभित्र गणना सम्पन्न गर्ने लक्ष्य हो, सोहीअनुसार अहिले गणकहरूका लागि तालिम लगायतका काम भइरहेको छ,” सूचना अधिकारी आचार्यले भने, “यसबाट गैंडाको अवस्था, संख्यालगायत वासस्थानका बारेमा वास्तविकता पत्ता लगाउन मद्दत पुग्छ ।”

चितवन, पर्सा, बर्दिया, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकैसाथ गैंडा गणना गर्ने तयारी छ । गणनाका लागि ८० लाख रुपैयाँ सरकारले बजेट छुटयाएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) लगायतका सस्थाले पनि गणनामा विभिन्न माध्यमबाट सहयोग गर्ने आचार्यले बताए ।
विभागका अनुसार हात्तीमाथि गणक बसेर प्रत्यक्ष रूपमा गैंडा गणना हुनेछन् । चितवनमा मात्रै गणना गर्न कम्तिमा २ सय जना परिचालन गर्न लागिएको छ । अन्य क्षेत्रमा पनि सोहीअनुसार जनशक्ती परिचालन हुने विभागले जनाएको छ ।

गैंडा रहने स्थानहरूको ब्लक ब्लक बनाइने छ र हरेक ब्लकमा हात्तीको लाइन लगाएर घेराबन्दी गर्दै बासस्थान नजिक पुग्दै गैंडा गणना हुन्छ । एक हात्तीबाट अर्को हात्तीको दूरी कम्तिमा १ सय मिटर हुन्छ । ब्लक बनाएर घेराबन्दी गर्दा संख्या दोहोरिने सम्भावना कम हुने र प्रत्येक दिन एक ब्लक बनाएर गणना गरिने विभागले जनाएको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७७०७:१६

सर्वोच्चले प्रतिनिधिसभा विघटनको विषयमा अर्को साताभित्र इजलासले आदेश दिने