काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन पनि । जनताको अभिमतभन्दा विपरीत जाँदैन र कसैलाई जान दिँदैन।”
प्रधानमन्त्री ओलीले देशलाई एकजुट बनाउनुपर्नेमा समेत जोड दिएका छन्। देशको विकास द्रुत गतिमा हुनुपर्ने बताउँदै ओलीले भने, “अर्को वर्षसम्ममा विकासशील राष्ट्रमा उक्लिँदै छौ। २०३० मा दिगो विकासका शर्तहरु पुरा गर्छौ भन्नेमा केन्द्रित हुनेछौं। त्यसैले विकास अझ तीव्र गतिमा हुनु पर्छ।”
देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको र तोकेकै मितिमा चुनाव हुनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा बोल्दै ओलीले कुनै हिसाबले लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने बताउँदै सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।

