रामेछापको मन्थली नगरपालिका-१ मच्छेडाडीमा विद्यार्थी बोकेको बस पल्टिएको छ । आज बिहान ७ बजेर ४५ मिनटमा सेतीदेवी माध्यमिक विद्यालयको स्काउट विद्यार्थी बोकेको बस पल्टिएको हो।
बसमा सवार ५३ जनामध्ये १८ जना घाइते भएका छन् । बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा घाइते भएका १८ जनामध्ये चार जनालाई भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा रिफर गरिएको छ भने बाकी सामान्य अवस्थामा रहेकाहरुको रामेछापमै उपचार भइरहेको छ। ठिमी अस्पतालमा रिफर गरिएकाहरुको अवस्था मध्यम रहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको अनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि उक्त बस मन्थलीबाट सालुमा जाने क्रममा पल्टिएको थियो। ओभर स्पिडमा चलिरहेको उक्त बसले अगाडी ट्रयाक्टर आएको देखेपछि साइड लगाउदा सडकमै पल्टिएको थियो। बस चालक गोकुलगंगा गाउँपालिका-४ का वीरेन्द्र बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।