प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा दुई महिनादेखि जारी बहस सकिएको छ। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिन गठन गरिएको ‘एमिकस क्युरी’ सदस्य वरिष्ठ अधिवक्ता गीता पाठकले राय राखेसँगै संसद विघटन मुद्दामा बहस सकिएको हो। एमिकस क्यूरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले भने यसअघि नै आ-आफ्ना तर्क राखिसकेका थिए।
बहस सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन कानुन व्यवसायीलाई आग्रह गरेका छन्। संवैधानिक इजलासको नेतृतव गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले १० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान सक्ने बताएका हुन्।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा निवेदनमाथि माघ ४ गते देखि सर्वोच्चको ५ सदस्यीय संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको थियो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।